Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

ईलाका प्रशासन कार्यालय, सेमरी, नवलपरासी बर्दघाट सुस्ता पश्चिम

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

ईलाका प्रशासन कार्यालय, सेमरी, नवलपरासी बर्दघाट सुस्ता पश्चिम

न्यून व्यान्डविथ Invert Color A- A A+

विद्युतीय राहदानी सम्बन्धि सामान्य जानकारी

2076-11-26

2076-11-26


नेपाल सरकार

परराष्ट्र  मन्त्रालय

राहदानी विभाग, काठमाडौं

राहदानीको लागि निवेदन कसरी दिने ?

अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो बुकिङ्गको दिन तोकिएको समयमा मात्र आउनु पर्छ । हरेकआधा घण्टाको बुकिङ्ग हुने, आधा घण्टामाकरिब सय जना सेवाग्राही हुने र हाल विभागमा २२ वटा लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने ठाउँ भएकोले धेरै लाइन बस्नै आवश्यक छैन । अहिले यो ब्यवस्था कडाइका साथ लागू गरिएकोले तोकिएको मिति र समयमा मात्र आउनु होला ।जस्तै, दिउसो ३ बजेको बुकिङ्ग छ तर विहान १० बजे नै विभागमा आएमा अनावश्यक रुपमा पाँच घण्टा बढी पर्खिनु पर्ने हुन्छ ।

सोही दिनको बुकिङ्ग भएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकता दिइ विभागले प्रतिदिन राहदानी जारी गर्न सक्ने क्षमताको आधारमा स्वास्थ्य उपचार, सम्बन्धित मुलुकको भिसा र टिकट भएको जस्ता अत्यावश्यक काम र प्रमाणको आधारमा मात्र पछिका बुकिङ्गलार्इ अगाडि ल्याएर अत्यन्त सीमित सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराउन सक्नेछ ।

नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।

फाराम भर्नुपूर्व तल उल्लिखित महत्वपूर्ण सूचनाहरू अनिवार्य पढ्नु हुन अनुरोध

विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।

https://emrtds.nepalpassport.gov.np

 

जान्नै पर्ने थप कुराहरु अनिवार्य पढ्नुहोला

जिल्ला प्रशासन कार्यालय वा अन्य कुनै निकायको सिफारिस वा पत्र लिएर आएमा विभागबाट छिटो राहदानी बनाउन सकिन्छ वा सकिदैन ?

सकिदैन । आफूले बुक गरेको मिति र समयमा मात्र आउनै पर्ने हुनाले पछिको बुकिङ्ग भएका सेवाग्राहीलाई अगाडि ल्याएर सेवा प्रदान गर्न सकिदैन । त्यसैले जिल्लाबाट पहिले मिति र समय बुक गरेर सोही मिति र समयमा मात्र विभागमा आउनु पर्ने हुन्छ । यसरी आएमा कुनै सिफारिस आवश्यक पर्दैन । स्वास्थ्य उपचार जस्तो अत्यावश्यक अवस्थामा मात्र निकै सीमित सेवाग्राहीलाई विभागको क्षमताले भ्याएमा सेवा प्रदान हुन सक्छ ।

 

फाराम भर्दा धेरै सेवाग्राहीहरुले गर्ने गरेका त्रुटीहरु के के हुन?

निवेदनका प्रकार गलत छनौंट: जस्तै पहिलो पटक राहदानी लिन, नवीकरण गर्न, हराएको बिग्रेको सट्टामा लिन (निवेदनका प्रकार गलत छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ) ।

 

विवरण गलत भरेको: पुराना यन्त्रबाचक राहदानी भएको तर विवरण उल्लेख नगरेको । प्रणालीबाट सबै कुरा सबै कुरा भिडान हुने हुनाले कुनै विवरण लुकाउनु हुँदैन ।

 

नागरिकता नम्बर गलत टाइप गरेको 

 

गलत पृष्टको राहदानी छनौट गरेमा:३४ र ६६ पृष्ठका राहदानीको दस्तुर फरक फरक छ । विभागमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको १२ हजार र ६६ पृष्ठको राहदानीको २० हजार दस्तुर लाग्छ । जिल्ला र नियोगमा निवेदन दिंदा छुट्टै दस्तुर लाग्छ । १२ हजार दस्तुर तिर्न चाहेको तर ६६ पृष्ठ छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ।

 

जन्मस्थान गलत उल्लेख गरेको :आफू जन्मेको जिल्ला लेख्ने ठाउँमा नागरिकता जारी गरेको जिल्ला छनौट गरी त्रुटी हुने गरेको । जुन जिल्लामा आफू जन्मेको हो सोही जिल्ला उल्लेख गर्नु पर्दछ ।

 

जरुरी परेमा सम्पर्क गर्ने विवरणः आफ्नै नाम ठेगाना लेख्नु हुँदैन । परिवारका सदस्य वा नातेदारको लेख्नु पर्दछ ।

 

नाम र थर लेख्दा त्रुटी :नाममा शुरुको नाम र बीचको नाम लेख्नु पर्दछ । थरमा थर मात्र लेख्नु पर्दछ । जस्तै राम बहादुर मगर नाम भएमा नाममा राम बहादुर र थरमा मगर लेख्नु पर्दछ । नाम राम बहादुर घर्ती मगर भएमा नामको महलमा राम बहादुर र थरको महलमा धर्ति मगर लेख्नु पर्दछ ।

 

नामको स्पेलिङ्ग गलत हुने गरेको :आफ्नो नागरिकता, आफूले अध्ययन गरेको प्रमाणपत्र तथा पुरानो राहदानीमा उल्लेख भएको नामको स्पेलिङ्गलाई ख्याल गरेर टाइप गर्नु पर्दछ ।

फाराम भरी सकेपछि निवेदनको प्रकार र आफूले चाहे भन्दा फरक पृष्ठ संख्याको राहदानी छनौट गरेको अवस्था बाहेक अन्य विवरणहरुमा सामान्य त्रुटी भएमा रुजु अधिकारी वा लाइभ इनरोलमेन्ट गर्ने अधिकारीले संशोधन गर्न सक्नेछन । तर तस्विर खिची फाराम ठीक छ भनेर हस्ताक्षर गरेपछि कुनै विवरण संशोधन हुने छैन । यस पछि कुनै त्रुटी भएको भए पुनः फाराम भरी थप दस्तुर तिर्नु पर्ने हुँदा विशेष ध्यान दिनु होला ।

 

विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?

सामान्य अवस्थामा अनलाइनबाट फाराम भरी बुक गरेको मिति र समयमा गएर लाइभ इन्रोलमेन्ट गरे पछि दुई कार्य दिन लाग्छ । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इनरोलमेन्टको लागि समय बुक गर्नु होला ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला । सामान्यतया दुई कार्य दिन भित्र एसएमएस आउंछ । यदि रिजेक्ट भयो भने कारण बताइएको हुन्छ । सोहीअनुसार गर्नु होला । दुई कार्य दिन भित्र कुनै पनि एसएमएस नआएमा निवेदन अनुसन्धानमा गएको हुन्छ । करिब चार पाँच दिन धैर्य गर्नु होला । त्यसपछि मात्र स्वीकृत भएको वा अस्वीकृत भएको एसएमएस आउने छ । कहिलेकाही विभिन्न निकायमा बुझ्नु पर्ने हुँदा थप समय पनि लाग्न सक्छ ।

 

बुकिङ्ग मिति पछाडिको मात्र पाइएको तर आफूलाई जरुरी परेको अवस्थामा जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुमा अनुरोध गरी अगाडि ल्याउन सकिन्छ वा सकिदैन ?

बुकिङ्गबाट फाराम भरेका सेवाग्राहीलाई प्राथमिकता दिंदै आफ्नो जनशक्ति र क्षमताले भ्याएमा जरुरी भएको अवस्थामा मात्र सीमित सेवाग्राहीलाई त्यस्तो सेवा दिन सक्छन् ।

 

बुकिङ्ग फुल भएर वा अन्य कारणले फाराम भरेर अनलाइनबाट पेश गर्न नै नसकिएमा के गर्ने ?

सामान्यतया बुकिङ्ग फुल भएको अवस्थामा फाराम पेश गर्न नसकिएको हुन सक्छ । यस्तो भएमा तुरुन्त सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु पर्दछ । कुनै व्यक्ति वा साइबरले अनधिकृत रुपमा बुकिङ्ग होल्ड गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु हुन अनुरोध छ । बुकिङ्ग कार्यालय समयमा मात्र खोलिन्छ ।बुकिङ्ग फुल भएको अवस्थामा कार्यालय खुल्ने दिन प्रायः अपरान्ह साडे चार बजे खोलिने व्यहोरा अनुरोध छ ।

 

कसैले आफूले भन्दा पछि फारम भरेको तर पालो आफ्नो भन्दा अगाडि आउन सक्छ कि सक्दैन?

कुनै निवेदकले बुकिङ्ग रद्द गरेको अवस्थामा सो बुकिङ्ग खाली हुने हुँदा अगाडि पालो पनि आउन सक्छ । कहिले काही विभाग वा जिल्ला वा इलाका प्रशासन कार्यालय वा नियोगहरुले आफ्नो क्षमताले भ्याएमा र बुकिङ्ग कम भएको पाइएमा संख्या थप्न सक्छन् । सो अवस्थामा पनि अगाडिको मिति पाउन सकिन्छ ।

 

लाइभइनरोलमेन्ट केन्द्र परिवर्तन गरेर एउटा भरेको फाराम हुंदा हुंदै अर्को नयाँ फाराम भर्न मिल्छ कि मिल्दैन ?

मिल्छ । निश्चित समय पछि फाराम आफै डिलिट हुन्छ । आफूले पहिले भरेको फाराम आवश्यक नपर्ने भएर हटाएमा अरु कसैले सो बुकिङ्ग पाउछ । फारम भरेकै भरमा राहदानी बन्दैन । लाइभ इनरोलमेन्ट केन्दमा गएर रुजु गर्ने, राजस्व तिर्ने, तस्विर खिच्ने, औठा छाप दिने आदि कार्य गर्नुपर्दछ ।

 

विद्युतीय राहदानीको दस्तुर के कति छ ?

जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि रु. पाँच हजार र ६६ पृष्ठको लागि रु. दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिँदा रु. बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।

 

जिल्लाहरूमा लाइभइनरोलमेन्ट गरिसकेपछि विद्युतीय राहदानी पाउन कति समय  लाग्छ ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा हप्ताको दुर्इ पटक तयारी भएका राहदानी विभागले उपलब्ध गराउँछ । काठमाडौं उपत्यका बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब ७ देखि १५ दिन भित्र राहदानी उपलब्ध हुन्छ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउँछ ।

 

के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?

१६ बर्ष माथिका र नेपालमै निवेदन दिने आवेदकहरुको लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए पनि राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझै सजिलो हुन्छ । नाबालकको हकमा जिल्लामा नाबालक परिचयपत्रको आधिकारिकता पुष्टी गरेको तस्विर सहितको पत्र आवश्यक पर्छ । यदि नेपालमा नै यन्त्रबाचक राहदानी बनाएको भए यस्तो पत्र आवश्यक पर्दैन ।

 

रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?

विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा (नं २) सम्पर्क गर्नु होला, पुनः लाइन बस्नु पर्दैन । रिजेक्सनको कारण थाहा भएमा तोकेअनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनसक्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।

 

दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?

केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।

 

म्याद भएको यन्त्रबाचक राहदानी (MRP) भएकाहरुको  हकमा  के हुन्छ ?

यन्त्रबाचक राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ । हराएको, बिग्रेको जस्तो अवस्था बाहेक एक बर्ष भन्दा बढी म्याद भएका राहदानीको सट्टामा नयाँ बनाउन पाइँदैन ।

साथमा तस्विर र फोटोकपीहरु ल्याउन पर्दछ कि पर्दैन ?

तस्विर लाइभ इनरोलमेन्ट सेन्टरमा खिचिने हुनाले तस्विर ल्याउनु पर्दैन । साथै तोकिएका कागजातको सक्कल ल्याउनु पर्दछ । फोटोकपीहरु आवश्यक पर्दैन ।

 

विद्युतीय राहदानी के हो ?

विद्युतीय राहदानी (e-Passport) विद्युतीय चिप जडान गरिएको राहदानी हो । चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु राखिएका हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा नेपालको विद्युतीय राहदानी पनि पर्दछ । ICAO PKD मार्फत सूचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकमा आवतजावत गर्दा सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

 

विद्युतीय राहदानी जारी हुन बाँकी जिल्ला प्रशासन कार्यालयहरु?

प्रदेश न. १ – धनकुटा बाहेक सबै जिल्लामा सेवा पुगेको ।

मधेश प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।

गण्डकी प्रदेश – मनाङ, मुस्ताङ बाहेक सबै जिल्लामा सेवा पुगेको ।

लुम्बिनी प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।

कर्णाली प्रदेश –  डोल्पा बाहेकका जिल्लामा सेवा पुगेको ।

सुदूरपश्चिम प्रदेश – बाजुरा, बझाङ, बैतडी, दार्चुला बाहेक सबै जिल्लामा सेवा पुगेको ।

नोटः यो चैत्र २३ गते सम्मको विवरण हो । थपिनेक्रम जारी छ । कृपया चेक गर्नु होला ।

 

सानो  त्रुटी हुँदा धेरै दुःख पाइन्छ थप राजस्व तिर्नुपर्ने हुनसक्छ कृपया दोहोराएर पढ्नुहोला !!!

 


पछिल्लो अपडेट गरिएको : 2083-01-23 16:00:59

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सेमरी, नवलपरासी बर्दघाट सुस्ता पश्चिम .